नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडी अस्ट्रेलिया गएका छन्।गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका फरवार्ड दर्शन गुरुङसँगै मिडफिल्डर सन्तोष तामाङ पनि अस्ट्रेलिया गएका हुन्।
पछिल्लो समय नेपाल छाडेर अस्ट्रेलियामा भविष्य खोज्दै नेपाली फुटबल खेलाडी जाने क्रम बढिरहेको छ। त्यसमा दर्शन र सन्तोष पनि थपिएका हुन्।
दर्शनले जेठ अन्तिम साता कुवेतविरूद्ध गोल गर्दै इतिहास बनाएका थिए।दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए। डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो।
पहिलो अन्तर्राष्ट्रिय गोल गरेको ४० वर्षपछि कुवेतविरूद्ध गोल गर्दै इतिहास दर्शनले कोरेका थिए। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।