काठमाडौँ, अब नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका भित्र कर्मचारी चढ्नका लागी विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने भएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न प्राधिकरणले आफैँ विद्युतीय सवारी प्रवर्द्धन गर्न लागेको हो ।
त्यसको शुरुवात काठमाडौँ उपत्यकाबात गर्न लागिएको उनले बताएका छन् ।
उनि भन्छन्, ‘ कर्मचारी कार्यालयबाट घर आउन-जान प्रयोग हुने गाडी अब विद्युतीय नै किन्छौं । भिन्न आयोजनाका साइटमा जाने भने विद्युतीय सवारीको लागि चार्जिङको समस्या हुन्छ । काठमाडौं भित्र चल्ने सवारी अब विद्युतीय नै किन्न थालेका छौं । ‘
साथै उनले जलविद्युत तथा प्रसारण लाइन आयोजनाको लागि भने तत्काल डिजेल र पेट्रोल गाडीको विकल्प सोच्न नसकिने पनि बताएका छन् ।
काठमाडौंमा १० स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने र त्यसको निम्ति १० करोड लागत लाग्ने बताइएको छ ।
ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले भने, ‘ हामी धेरै गाडीको चहल-पहल हुने ब्यापारिक स्थानमा यस्तो चार्जिङ स्टेसन राख्नेछौं । यसले ती ठाउँमा जाने व्यक्तिको संख्या बढेर त्यस्ता संस्थालाई फाइदा हुनेछ भने हामीले चार्जिङ स्टेसनको सुविधा दिन सक्नेछौं । ‘
त्यसैगरी काठमाडौँ पश्चात पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेसन जडान गने योजना रहेको छ ।