वीरगञ्ज । साउन १२ गते बिहान पर्साको जीराभवानी गाउँपालिका–१ भवानीपुरबाट जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा धमाधम फोन आउन थाल्यो । गाउँमा एक युवतीको मृत्यु भएको र मध्यरातमा सुटुक्क जंगलमा लगेर शव जलाइयो भन्ने सूचना थियो । मृतक थिइन् १७ वर्षीया सीमा कुमारी ।
जानकारी पाए लगत्तै १२ साउनको बिहानै नजिकै रहेको महादेवपट्टी प्रहरी चौकीबाट प्रहरी टोली गाउँमा पुग्यो । ईलाका प्रहरी कार्यालय सेढवा र पटेर्वासुगौलीको टोली पनि गयो ।
बिहान १० बजेतिर ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट पनि प्रहरी निरीक्षक किशोर आचार्य पनि आफ्नो टोली सहित गाउँ पुगे । वडा अध्यक्ष रामशरण खवास पनि प्रहरीसँगै खोजतलासमा जुटे । गाउँमा महिला मात्रै घरको ढोका थुनेर बसेका थिए, टोलका सबै पुरुषहरु फरार थिए ।
सोधपुछका लागि प्रहरीले मृतककी आमा ४८ वर्षीया कान्तिदेवी थारुलाई पक्राउ ग¥यो, कान्तिदेवीले छोरीले झुण्डिएर आत्महत्या गरेपछि शव जलाएको बताइन् ।
त्यसपछि प्रहरीले जलाइएको ठाउँको खोजी सुरु गर्यो । दिउँसो २ बजेतिर पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने जय माँ जगदम्बे सामुदायिक वन क्षेत्रमा शव जलाएको ठाउँ भेटियो । वसन्तपुर सब डिभिजन वन कार्यालय भन्दा सात सय मिटर उत्तर घना जंगलमा शव जलाइएको रहेछ ।
प्रहरीले शव जलाईएको ठाउँबाट अनुसन्धानका लागि जल्न बाँकी रहेको शरीरका अंग, हड्डीहरु संकलन गरेर ल्याएको छ । प्रहरी निरीक्षक आचार्यका अनुसार शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको थियो ।
‘शव जलाएको भोलिपल्ट मात्रै खबर आयो, गाउँमा महिला मात्रै ढोका थुनेर बसेका थिए, सोधपुछ गर्दा कसैले केहि जानकारी दिएनन् । पुरुष सदस्यहरु कोहि थिएनन्’, आचार्यले भने, ‘पछि मृतकको आमालाई नियन्त्रणमा लिएर सोधपुछ गर्यौं, उनले छोरीले आत्महत्या गरेपछि लगेर जंगलमा जलाएको भनिन् ।’ प्रहरीले संकलन गरेको शवको अवशेषहरु परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।