काठमाडौँ, हाल उपत्यकाका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण पाइएको छ । दुई साता अघि मात्रको कुरा हो, ललितपुरको ठेचो स्थित एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण भेटिएको थियो ।
ती कुखुरा त्यहाँ उत्पादन नभएर काठमाडौको तारकेश्वर नगरपालिकाको फार्मबाट ल्याइएका थिए । ती कुखुरा तत्काल नष्ट गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायण बहादुर श्रेष्ठले बताएका छन् ।
उनि भन्छन्, ‘ काठमाडौबाट वर्डफ्लु ललितपुर छिरेको हो । त्यस घटनापछि ललितपुरका अन्य स्थानमा बर्डफ्लुको संक्रमण देखिएको छैन । ‘
ठेचोका मासु व्यवसायी मनोज केसीले आफ्नो फार्ममा तारकेश्वरबाट ल्याएको कुखुरा लुकाएर राखेको अवस्थामा भेटिएको श्रेष्ठको भनाइ छ । उनको अनुसार काठमाडौँको टोखा नगरपालिकाको १ र ३ नम्बरमा साथै तारकेश्वर नगरपालिकाको १ र ७ नम्बर वडामा वर्डफ्लुको संक्रमण देखिएको हो ।
यसैगरी भक्तपुरमा पनि सूर्यविनायक नगरपालिकाको गाम्चा १ मा वर्डफ्लु भेटिएको छ । उनको अनुसार सबैभन्दा धेरै बर्डफ्लु काठमाडौँमा भेटिएको छ ।
ललितपुरमा ठेचोमा बाहेक कतै बर्डफ्लु नभेटिएको उनको भनाइ छ ।