कांग्रेसले छानबिन समिति बनाउन अस्वीकार गर्दा रास्वपासँगको छलफल निष्कर्षविहीन

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति गठन गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक श्यामकुमार घिमिरे र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियारको सहभागितामा भएको बैठक निष्कर्षबिनै सकिएको छ।

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग राखेको थियो। तर कांग्रेसले यसलाई अस्वीकार गरेपछि सहमति नजुटेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

‘कांग्रेसले संसदीय छानबिन समिति बनाउन अस्वीकार गर्‍यो, त्यसपछि कुनै कुरा मिलेन,’ उनले भने।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा लगातार अवरुद्ध गर्दै आएका छन्। कांग्रेसले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा सहयोग गर्ने र आयोगको छानबिन पूरा भएपछि कानुनी सुधारको लागि समिति बनाउने प्रस्ताव राखेको छ। तर विपक्षी दलहरू उक्त प्रस्ताव स्वीकार गर्न तयार भएका छैनन्।

आज दिउँसो दुई बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दलहरूबीच सहमति नहुँदा अहिलेसम्म सुरु हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया