वाग्मती, २३ असोज | कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो ।
उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ । उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।