कर्णाली जाने कर्मचारीलाई १ लाख तलबको प्रस्ताव !

काठमाडौँ, संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै पूर्वमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव राखेका छन् ।

उनले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन् ।

उनले भने, ‘ म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ । त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिऔं । ‘

बैठकमा बोल्दै शर्माले भने, ‘ कर्णालीको राजश्व पाँच करोड पनि छैन। सबै पैसा यहि केन्द्रले दिएको १५/१७ अर्ब हो । हरेक मन्त्रालयका अफिस अनि अरु ८४ वटा अफिसमा दश दश कर्मचारी भर्ना गरेर कसरी काम गर्न सकिन्छ । आजको सन्दर्भमा टेक्नोलोजीको विकास भएको छ । थोरै कर्मचारीले काम गर्न सकिन्छ नि । सामान्य मान्छेलाई कर्णालीमा काम गर्नेलाई एक लाख दिनुपर्छ भन्ने माग छ मेरो । त्यहाँको प्रमुख सचिवलाई ३ लाख दिनुपर्छ भनेर आएको छु म । नत्र बस्दैन । दुई महिना बसेर फर्किन्छ । अनि के काम गर्नु । बरु कर्मचारी संख्या थोरै गरेर बढी दिनुपर्‍यो । त्यसो भयो भने बस्छ र काम गर्छ । ‘

कर्मचारीको अभावका कारण काम नभएको बताउँदै उनले भने, ‘ जति भर्ना गरेर के हुन्छ र यहाँ ? स्थायी नियुक्ती बुझेको भोलीपल्ट कर्मचारी जाँदैन । गएछ भनेपनि सुर्खेतमा बस्ला ? त्यसैले हामीले सम्बन्धित पालिकामा छन् योग्य भने त्यहाँबाट होओउन् । ‘

लोक सेवा आयोगले भारी मात्रामा कर्मचारीको माग गर्दै खुलाएको बिज्ञापन बारे संसद भित्र नै प्रश्न उठेका थिए । यस प्रसङ्गलाई जोड्दै उनले आयोगले केन्द्रबाट भर्ती गर्ने कर्मचारी स्थानीय तहमा नबस्ने समस्या रहेको बताए ।

कर्मचारी भर्ती गर्दा सम्बन्धित स्थानीय तहमा योग्य व्यक्ति भए त्यहिँको व्यक्तिले मौका पाउनुपर्ने बताउँदै उनले समावेशिता कायम गर्नुपर्ने तर्क समेत गरेका छन् ।

उनले धेरै कर्मचारी भर्ती गर्न स्थानीय तहको राजश्वले नधान्ने र ओएनएम सर्वे गरेर कर्मचारी भर्ती गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया