करेण्ट लागेर साढे तीन वर्षको बालकको मृृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ ।

रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो ।

“घर नजिकै भएको तरकारी फार्ममा पानी तान्ने बेलामा बच्चा खेल्दै गर्दा नाङ्गो तारमा छोएर करेण्ट लागेर मृत्यु भएको हो ।” भट्टराईले भन्नुभयो, “घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।”

हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण
मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ ।

उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको छ । डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा लामखुट्टे मार्ने र सचेतनामूलक कार्यक्रम गरिरहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

हेटौँडामा विगत चार दिनदेखि जनचेतना जगाउँदै डेङ्गुको सङ्क्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसकाबारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।

वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उहाँले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख कार्कीले बताउनुभयो ।

गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । उपमहानगरपालिका क्षेत्रमा यस्तो समस्या देखिएसँगै जिल्लाका अन्य क्षेत्रहरुबाट पनि बिरामीलाई डेङ्गुको आशङ्कामा स्वास्थ्यकर्मीहरुले हेटौँडा रेफर गर्ने क्रम बढेको बताइन्छ । तर ग्रामीण क्षेत्रहरुमा भने हालसम्म त्यस किसिमका प्रयास भएको पाइँदैन ।

लामखुट्टेबाट जोगिन र शङ्का लागेमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई उपचार गराउन प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अनुरोधसहित सूचना समेत जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया