काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अवैध रुपमा नक्कली मेमोरी कार्ड र पेन ड्राइभ बनाउने गिरोहलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले आठ करोड भन्दा बढिको अवैध सामाग्रीसहित सात जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले बताएका छन ।
एसएसपी धानुकका अनुसार ललितपुरको सानेपाबाट तीन भारतीयसहित सात जना पक्राउ परेका हुन् । तर, उक्त कार्यमा संलग्न सञ्चालकद्धय भने फरर रहेको धानुकले बताए ।
मोहन वंशल र गोविन्द वंशलले सानेपामा जेएसएस मोबाइल कलेक्सन सेन्टर खोलेर घरको कोठाभित्र मेसिनबाट सामसुङ कम्पनीको नक्कली पेनड्राइभ र मेमोरी कार्ड उत्पादन गर्दै आएको खुलेको एसएसपी धानुकले बताए ।
उनीहरु दुबै दाजुभाई भएको खुलेको पनि प्रहरीले जनाएको छ । प्रहरीले वंशलको सानेपामा रहेको दुई वटा गोदाममा छापा मार्दा आठ करोड भन्दा बढिको सामान फेला पारेको हो ।
सानेपामा रहेको जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मार्दा ५ करोड बराबरको ति अवैध सामानहरु फेला पारेको हो । पक्राउ परेकाहरुको बयानका आधारमा ललितपुर प्रहरीले भर्खरै मात्र सानेपाकै अर्को गोदाममा छापा मार्दा झण्डै ४ करोड बराबरको अवैध मेमोरी कार्ड, पेन ड्राइभ, क्यामेरा र मोवाइलमा प्रयोग हुने सामाग्रीहरु बरामद् गरेको एसएसपी धानुकले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चीनबाट मेसिन ल्याएर नेपालमा अवैध रुपमा उत्पादन गरिएका मेमोरी र पेनड्राइभमा सामसुङको होलोग्राम टाँसेर भारत र बंगलादेशमा निर्यात गर्ने गरेको खुलेको छ ।
उनीहरुले दैनिक २५ लाख बराबरको सामग्री उत्पादन गर्ने गरेको एसएसपी धानुकले बताए । उनीहरुले सामानहरु चाइनाबाट कर छलि गरेर ल्याउने गरेको पनि खुलेको छ ।एसएसपी धानुकका अनुसार बंशलद्धयले चाइनावाट १ देखि ८ जिबीसम्मका मेमोरी कार्ड ल्याएर ३२ र ६४ जिवीको छाप लगाएर बजारमा बिक्री गर्दै आइरहेको पनि बताए ।







