काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् ।
फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो ।
सडकपेटी अतिक्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, दृष्य प्रदूषण नियन्त्रण, पार्किङ स्थलको व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, सेटब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, रुखका हाँगा काँटछाँट र अव्यवस्थित तार व्यवस्थापनको काममा नगर प्रहरी खटिने गरेका छन् ।