काठमाडौँ , ६ कार्तिक । तेस्रो पटकको प्रयासपछि २० लाख विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइको ठेक्का फ्रान्सेली कम्पनीले पाउने भएको छ । राहदानी विभागले बुधबार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का दिने आशयको सूचना जारी गरेको छ । बुधबारको सटही दरअनुसार यो रकम २ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ बराबर हुन जान्छ ।
सरकारले राहदानी छपाइका लागि ठेक्का दिन तीन पटकको सूचनापछि फ्रान्सेली कम्पनीले ठेक्का पाउने निश्चितप्रायः भएको हो । यसअघि पहिलो पटक नेपालमै सेक्युरिटी प्रेस स्थापना गरेर पासपोर्ट छपाइ गर्ने भन्दै ठेक्का रद्द गरिएको थियो । दोस्रो पटक आह्वान गरिएको ठेक्कामा सहभागी कम्पनीले हालेका कागजपत्र अपुरो रहेको भन्दै रद्द गरिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।