इन्टरनेट विस्तारमा वल्र्डलिङ्कले १०००० स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने जानकारी !

काठमाडौँ, विगत २३ बर्ष देखि इन्टरनेट सेवा पदान गर्दै आएको वल्र्डलिङ्क कम्पनीले कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

वल्र्डलिङ्कले हाल तीन हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराएका छन् । त्यसैगरी सन् २०२२ सम्म सबै स्थानीय तहसम्म इन्टरनेट सेवा पुर्याउने पनि नेपालले बताएका छन् ।

कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । सेवाग्राहीले एकपटकमा  करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् ।

इन्टरनेट विस्तारको क्रममा वल्र्डलिङ्कले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी गरेको समेत जानकारी गराएका छन् । तीन वर्षअघिसम्म ३५ हजार मात्र सेवाग्राही रहेको वल्र्डलिङ्कले हाल दुई लाख ८० हजार सेवाग्राही बनाई सकेको छ ।

नेपालले देशको दुर्गम क्षेत्रमा समेत इन्टरनेट पुर्याउने क्षमता विस्तार गरिएको जानकारी दिएका छन् ।उनले कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पुर्याइने बताएका छन् । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उदेश्य रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया