इथियोपियाको विमान दुर्घटनामा परेका नेपालीको पहिचान खुल्यो

ठमाडौँ : इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामध्ये एक नेपालीको परिचय खुलेको छ।

उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्।

इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो। इथियोपियामा नेपाली दूतावास छैन। इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ।

अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।

इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए।

विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

इथियोपियन एयरलाइन्सले मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको बताएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ।

file photo

फेसबुकबाट तपाईको प्रतिक्रिया