काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर बालेन्द्रले कार्यान्वयनका लागि सहकार्यको विकल्प नभएको बताएका छन्।
बजेट निर्माण गर्दा महानगरका प्राथमिकता तय गरेको उनले बताएका छन्। ‘तत्काल परिवर्तन गर्ने आवेशमा र ‘क्रान्तिकारी देखिन’ सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिंडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं,’ आफ्नो सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्रले भनेका छन्, ‘पुराना किसिमका बजेटका शीर्षकहरुलाई यसपालि पनि निरन्तरता दिएका छौँ। र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ।’
महानगरवासी र महानगरका पनि सीमा र बाध्यता भएका उल्लेख गर्दै अहिलेको प्रमुख प्राथमिकता फोहोर व्यवस्थापन रहेको उनले बताएका छन्।
‘अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ मेयर शाहको भनाइ छ, ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ।’
त्यस्तै, महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ ।
महानगरपालिकाले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना बनाएको महनगरकाे पूर्वाधार विकास विभागका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार ‘बी बोइङ’ ब्रेकडान्सिङ नृत्यको एउटा ऊर्जावान शैली हो । यो सामान्यतयाः हिप-हप संगीतमा प्रदर्शन गरिन्छ, कलात्मक फुटवर्क र एक्रोबेटिक वा एथलेटिक शैलीको यो नाच पछिल्लो समय लोकप्रिय छ । स्केटबोर्डिङ भने पांग्रा जोडिएको स्केटमा हिंड्ने फरक शैलीको खेल हो ।
बजेटमा नै महानगरपालिकाले यो रकम पार्क निर्माण, बास्केटबल कोर्ट, स्केट बोर्डिङ, बी बोइङसहितको पार्क बनाउने उल्लेख गरेको छ । बजेटमा अन्य संरचना पनि बनाउने भनिए पनि के-के हुने भन्ने थप खुलाइएको छैन ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६मा यस्तो पार्क बन्ने छ । यसअघि यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन साह विवादमा तानिएका थिए । प्रस्तावित यमबुद्ध पार्कमा अब यमबुद्धको सालिक रहने/नरहने बजेटमा उल्लेख छैन ।
सलिकबारे विवाद भएपछि गत २५ असारमा काठमाडौं महानगरपालिकाका मेयर साहले दिवंगत र्याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने घोषणा गरेका थिए ।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गर्नु परेको थियो ।