काठमाडौँ, केहि दिन अघि मात्र भएको विमान दूर्घटन र पर्यटन मंत्री रवीन्द्रप्रसाद अधिकारीको मृत्युलव सबैलाई भावविभोर बनाएको छ । अझै पनि पत्याउन नसकिँदो यस घटनामा पस्चताप गर्दै मंत्री अधिकारी पत्नी बिद्या भट्टराई भन्छिन्, ‘म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।’
आत्मग्लानीको साथ उनि भन्छिन्, ‘जति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ ।’
एक-अर्कामा निकै राम्रो बुझाई भएका उनीहरुको सुमधुर साथको याद गर्दै भन्छिन्, ‘श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गर्थ्याैँ । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।’
राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहजै नास्वीकारिने कुरा गर्दै आफ़ू पिडामा भएको र राजनीतिमा कदम राख्ने बारे हाल केहि पनि नसोचेको उनि बताउँछिन् ।
मृत्युको केहि घण्टा नबित्दै सामाजिक संजालमा अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भन्दै सार्बजनिक एक भिडियो बारे उनि भन्छिन्, ‘घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ ।’