काठमाडौँ, बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाईलामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पष्ट पारेका छन् ।
उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि खुलाएका छन् ।
मन्त्री पोखरेलले सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिइसके पछि अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने तर्क गरेका छन् ।
गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वत: स्थायी गर्न व्यवहारिक समेत नहुने उनले स्पष्ट पारेका छन् ।
साथै उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकार लागि परेको बताएका छन् भने यता बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग राखेका छन् ।
समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरि सरकारको ध्यानाकर्षण गराउँदै कतिपय अस्थायी शिक्षकहरु अपांङ समेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राखिन् ।
उपसमितिका संयोजक उमेश श्रेष्ठका अनुसार बैठकमा मन्त्री पोखरेललाई बुझाइएको समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न र सार्वजनिक विद्यालयहरुको पठनपाठनलाई व्यवस्थित बनाउन सरकारलाई सुझाव दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गर्नुका साथै प्राविधिक तथा व्यवसायिक शिक्षकहरुको अभाव तत्काल पूरा हुने गरी सरकारले आवश्यक कानुनको व्यवस्था गर्ने तयारी गरिरहेको पनि बताएका छन् ।