काठमाडौं, १५ असार : अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार बाढी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मरेका छन् । पानीका कारण फाराममा करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
झापाकै गौरीगंज गाउँपालिका–४ सुकुम्बासी बस्तीमा मंगलबार कृष्णखोलाबाट बाढी पस्दा १५ घर डुबानमा परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–१ खात टोलस्थित सिङिया खोलामा मंगलबार पानीको बहाव बढ्दा खात टोलमा रहेका करिब २६ र कटहरी गाउँपालिका–१ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेको छ ।