काठमाडौं – अमेरिकामा लगातार दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा गिरावट आएको छ । यसबाट देशमा मन्दीको आशंका थप बढेको छ ।अमेरिकी अर्थतन्त्रमा चालू आर्थिक वर्षको अप्रिल-जुन त्रैमासिकको क्रममा वार्षिकरूपमा ०.९ प्रतिशतले गिरावट आएको हो ।
त्यहाँको वाणिज्य मन्त्रालयले विहीबार सार्वजनिक तथ्यांकका अनुसार यसअघि जनवरी-मार्च त्रैमासिकमा कुल ग्राहस्थ उत्पादनमा १.६ प्रतिशतले गिरावट आएको थियो ।
लगातार दुई त्रैमासिकमा जीडीपीमा गिरावट आउनु मन्दीको संकेत हो । यद्यपि, यो तथ्यांकमा परिवर्तन आउन सक्छ । बजारमा महंगी बढिरहेकोले उपभोक्ता तथा कम्पनिहरू प्रभावित भइरहेको बेला जीडीपीमा गिरावटको आंकडा सार्वजनिक गरिएको हो ।
अमेरिका संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र हो । यहाँ देखिने मन्दीको असर संसारभरी देखिन्छ ।लगातार दुई त्रैमासिकमा जीडीपीमा गिरावट आउनुलाई सैद्धान्तिकरूपमा मन्दी भनिए पनि अमेरिकी राष्ट्रपतिले यसलाई स्वीकार गरेका छैनन् ।
उनी भन्छन्, ‘अहिले हामी ऐतिहासिक र वैश्विक चुनाैतीको सामना गरिरहेका छौं, हामी सही बाटोमा छौं र यो संक्रमणबाट हामी थप बलियो र सुरक्षित भएर आउनेछौं ।’