काठमाडौँ, आजकलको बदलिँदो मौसमले जनजिवन कष्टकर बनाएको छ । बदलिँदो मौसमसंगै हिजो परेको असिना पानीले अब बर्षा शुरु भए झैँ बनाएको छ ।
आजको मौसममा पनि खासै सुधार भने देखिएको छैन । अझै पनि मौसम आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली हुनेछ ।
पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा ल्याएको बदली अझै शनिबार सम्म रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिएका छन् ।
महाशाखाका अनुसार राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी शनिबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ ।







