कोहलपुर प्रहरीको हिरासतमा रहेकी महिलामाथि प्रहरीबाटै बलात्कारको प्रयास

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवालाई प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ ।

बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले शुक्रबार बिहान करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको हो । कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँलाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।

मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास भन्दै हिरासतका अन्य थुनुवाहरुले हल्लाखल्ला गरेका थिए । आरोपित असई चौलागाईँले भने आफुले थुनुवा महिलामाथि बलात्कारको प्रयास नगरेको बताएका छन् ।

‘चौबिसै घण्टा प्रहरी ड्युटीमा हुन्छ’ मिसन टुडेको सम्पर्कमा आएका उनले भने, ‘हामीले त्यस्तो गर्ने भन्ने कुरा नै हुन्न । उनीलाई सोधपुछ मात्र भएको हो ।’ घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने कोहलपुर आएका छन् ।

‘प्रहरी कार्यालय भित्रैको घटनाबारे खबर आएको छ । त्यसकै लागि म कोहलपुर आइरहेको छु’ उनले मिसन टुडेसँग भने, ‘घटनाको सत्यतथ्य छानविन हुन्छ । पीडित भनिएकी महिलासँग समेत कुरा हुन्छ । दोषि पाइए जोसुकै भएपनि कारबाही हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया