काठमाडौँ, मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारुढ पार्टी नेकपाका सांसद झपटबहादुर रावलले रोस्टममा मौन बसेर विरोध जनाएका छन् । उनले सहरी विकास मन्त्रालयले गरेको बजेट विनियोजन र कार्यक्रम आफ्नो जिल्लामा नपरेको भन्दै मौन विरोध गरेका हुन् ।
उनले विरोधमा कविताका पंक्ति वाचन गर्दै भने, ‘ म खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरूँ, म बाँचू, मै हाँसूँ अरू सब मरून् दुर्बलहरू । ‘
सभा सञ्चालन गरिरहेकी सांसद राधा ज्ञवालीले उनको मौनतामा प्रश्न गर्दै भनिन् :
राधा ज्ञवाली : माननीयज्यू के भयो ?
झपटबहादुर रावल : सभामुख महोदय, केही नभएको हुनाले नबोलेको ।
राधा ज्ञवाली : मौन बस्दा समयको सदुपयोग भएन कि ? समय दिन्छु बोल्नुस् ।
झपटबहादुर रावल : भए पो बोल्नु ।
केही बेरको मौनता तोड्दै उनले सरकारले मन्त्री र नेताकेन्द्रित बजेट ल्याएको प्रतिक्रिया दिए । उक्त बजेट विभेदकारी भएको उनको भनाइ छ ।
उनले भने, ‘ तपाईंको क्षेत्र बाँकेमा सहरीकरण गरेर सबैतिर सहरी विकास हुने होइन । मुलुकभरको सबभन्दा धेरै मुक्त कमैया बसेको कैलाली–२ मा सहरी विकास मन्त्रालयको आँखा पुगेन । मेरो निर्वाचन क्षेत्रमा पुनःस्थापित बादी समुदाय रूखको फेदमा बसेका छन् । ‘