काठमाडौँ, बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनको निम्ति आफुहरु छिट्टै नै सडकमा उत्रिने बताएका छन् ।
उनले भने, ‘ नेपाललाई विदेशीको इशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौँ । ‘
नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दू राष्ट्र बनाउन लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनको निम्ति कुनै विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारेका छन् ।
उनले भने, ‘ नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ । ‘ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ढुलमुल भएर बसिरहेको आरोप समेत उनले लगाएका छन् ।
उनि भन्छन्, ‘ कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ । ‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री के.पी ओली र मोदी बीच भएका कुराहरु आफुलाई थाहा नभएको बताउँदै उनले नेपाल-भारतको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिएका छन् ।
साथै उनले कमल थापा नेतृत्वको राप्रपा र आफुहरु बीच एकताको सम्भावना रहेको बताउँदै भने, ‘ राय मिल्ने शक्तिसँग एकता हुन्छ । ‘
साथै उनले प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको भने, ‘ उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, नेकपाले चुनावमा भारी बहुमत हासिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो । ‘
उनले सरकारलाई व्यंग्य गर्दै भने, ‘ आखिरीमा यो सरकारको काम हेर्दा हात्ती आयो हात्ती फुस्साजस्तै छ । ‘