काठमाडौँ, पहिलोपटक जेनेभामा मरिसससँगको श्रम समझदारी भएकै दिन रोजगारीका लागी अफ्रिकी मुलुम मरिसस जाने तैयारीमा रहेका १६ नेपाली विनमस्थल बाटै फर्किएका छन् ।
उनीहरु नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मरिसस जाने तैयारीमा थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अध्यागमन विभागले पासपोर्ट जफत गरि अनुसन्धानमा पठाएको हो ।
विभागले मरिससको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जनाएको छ । प्रतिव्यक्ति १ लाख ७० हजारको दरले गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिले कागजात मिलाएको खुल्न आएको छ ।
उनीहरुको बारेमा वैदेशिक रोजगार विभाग काठमाडौंले समेत केही बताउन नसके पछि थप छानबिनको लागि उक्त कागजात वैदेशिक रोजगार विभागमा पठाईएको छ ।
ति १६ जना मकवानपुरका वीरमान महर्जन, रोल्पाका लालबहादुर बुढा मगर, प्युठानका नरबहादुर घर्ती क्षत्री, सप्तरीका लगिनदेव सरदार, प्युठानका हुमलाल घर्ती क्षत्री, धादिङका जीतबहादुर दराई, सप्तरीका श्रवणकुमार सरदार, प्युठानका रामलाल घर्ती क्षत्री, सप्तरीका श्यामकुमार सरदार, प्युठानका खगेन्द्र घर्ती क्षत्री, सप्तरीका सुनील सरदार, रोल्पाका मंगलसिंह कामी, सप्तरीका सत्यनारायण सरदार, रोल्पाका अमरबहादुर थापा क्षेत्री, रोल्पाका बिनबहादुर रोका र रोल्पाका धनबहादुर खड्का रहेका छन् ।
अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले उनीहरुको राहदानी विभागमा पठाएको हुँदा त्यहाँबाट नै लिन आग्रह गरेको छ । विभागका सूचना अधिकारी भोलानाथ गुरागाईका अनुसार विभागले विमानस्थलबाट फिर्ता भएका नेपाली र उनीहरुलाई मरिसस पठाउने कम्पनीसँंग बयान लिने तयारी गरेको छ ।
विभागले जानकारी दिएको छ, ‘ मरिसस लैजाने जिम्मा लिएको जस्मिन इन्टरनेशनल प्रालिका सञ्चालक अहिले सम्पर्क बाहिर रहेकाले उनको खोजी भइरहेको । ‘
विमानस्थलबाट फिर्ता भएकाहरुसँंग बयान लिने काम शुरु भएको र सत्य तथ्य जे आउछ त्यही अनुसार कारवाही गर्ने तयारीमा विभाग रहेको विभागका सूचना अधिकारी गुरागाईंले बताएका छन् । यस समाचार आजको नेपाल समाचार पत्रमा लेखिएको छ ।