विप्लवका उपत्यका इन्चार्ज लामा समातिए !

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ ।

राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२ः२० बजेको समयमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

लामासँगै उनका सहयोगी रेशम तामाङलाई समेत पक्राउ गरिएको महाशाखा प्रमुख थापाले जानकारी दिनुभयो । सरकारले विप्लव समूहका गतिविधि विध्वंशकारी रहेको भन्दै रोक लगाएको छ ।

प्रहरीले लामासँगै विप्लवका अर्का एक कार्यकर्ता रोसन तामाङलाई पनि पक्राउ गरेको छ ।

लामामाथि नख्खु, अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटनामा निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।

हाल नख्खु जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीपछि लामा पक्राउ पर्नेमा अर्का ठुला नेता हुन्।

विप्लवको उपत्यका ब्यूरोमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा समेत पर्छन् ।

यो ब्यूरोको जिम्मेवारी लामाको थियो । पछिल्लो समय उनी सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा पनि थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया