लोक सेवा आयोगको विज्ञापन फिर्ता गर्न सत्तारूढ दलकै सांसदको दबाब !

फाइल फोटो

काठमाडौँ, लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुलाएको थियो । लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई सत्तारूढ दलकै सांसदहरूको तर्फबाट चर्को दबाब आएको छ ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भीर द्वन्द्वमा फस्ने सत्तारूढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहाय प्रसाद यादवले चेतावनी दिएका छन् ।

उनले सरकारलाई स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरू भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए मुलुकमा ठूलो द्वन्द्व निम्तिने तर्फ सचेत समेत गराएका छन् ।

केहि दिन अघि खुलाइएको लोक सेवा आयोगको विज्ञापन संविधान र कानुनविपरीत भएको उनले दाबी गरेका छन् । स्थानीय तह आफैंले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने बारे पनि उनले स्पस्ट पारेका छन् ।

त्यसैगरी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले पनि यस बारे बोल्दै मुलुकमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तिका लागि विज्ञापन खुला गरेकोमा आपत्ति व्यक्त गरिन् ।

साथै उनले गरिब जनताले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरूलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराध सरह भएकाले कर्मचारीहरूको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने बताइन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया