काठमाडौँ, केहि समय अघि मात्र ज्योतिष अर्जुन कुमार थापा क्षेत्री भुकम्प आउँछ भनेर सर्वासाधारण बीच आतंक फैलाएको आरोपमा पक्राउ परेका थिए ।
अर्जुनले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् । अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।
मंगलबार दिउँसो गौशाला क्षेत्रबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले क्षत्रीलाई नियन्त्रणमा लिएको थियो । क्षत्री सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका छन् ।
उनलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । अनुसन्धानबाट यस कुरा खुल्न आएको प्रवक्ता बोगटीले बताएका छन् ।
यूट्यूव भिडियो मार्फत उनले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।