काठमाडौँ, बेलायतमा आगलागीमा परि एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुने ४५ वर्षीया रञ्जना गुरुङ रहेकी छिन् । उनि साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा बस्दै आएकी थिइन् ।
सोमबार राति भएको आगलागीमा परेर मृतकका श्रीमान् र दुई छोराछोरी घाइते भएका बेलायती अखबार द सनले जनाएको छ । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ ।
अस्पतालका अनुसार श्रीमान् हिम गुरुङको अवस्था चिन्ताजनक रहेको छ भने १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन खतरामुक्त रहेका छन् ।
आगलागीबारे पूर्ण विवरण भने आइसकेको छैन । यस बारे अनुसन्धान भैरहेको बेलायती प्रहरीले जनाएको छ । छिमेकीले राति करिब ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान् र छोराछोरी चिच्याएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै अग्नी नियन्त्रक सहित प्रहरीको टोली त्यहाँ पुगिसकेको थियो । आगो १ घण्टा १५ मिनेटभित्र नियन्त्रणमा लिई सकिएको थियो । घरको भुइतला, पहिलो तला र सिंढीको भाग जलेको बुझिएको छ ।
एक अस्पतालमा क्लिनरको रुपमा कार्यरत मृतक रन्जना विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन् भने उक्त घरमा उनि बस्दै आएको ९ वर्ष भैसकेको छिमेकीले बताएका छन् ।