काठमाडौँ, अछाममा प्रहरी र नेत्र विक्रम चन्द नेतृत्वको विप्लब कार्यकर्ता बीच दोहोरो भिडन्त भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउसो करिब १२ बजे दुई पक्षिय गोली हानाहान भएको हो ।
अछामका प्रहरी प्रमुख जनक शाहीले गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर गरेपछि त्यसको जवाफ फर्काएको बताएका छन् । उनका अनुसार प्रहरीले ४ लाई गिरफ्तार गरेको छ भने विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएका छन् । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेका छन् ।
त्यहिँ विप्लब समूहका एक नेताले प्रहरीको कुरा झुटो भएको दाबी गर्दै भनेका छन्, ‘ प्रहरीले सुरूमै हामीमाथि फायर खोलेपछि त्यसको जवाफी फायर हामीले गरेका हौं । ‘
झडप पश्चात उक्त क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । विप्लब समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।