पर्यटक डुंगा दुर्घटना हुँदा १५ जनाको मृत्यु !

फाइल फोटो

एजेन्सी, बुडापेस्टमा पर्यटक डुंगा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हंगेरीको राजधानी बुडापेस्टमा  एक साता अघि उक्त दुर्घटना भएको हो ।

प्रहरी श्रोतका अनुसार दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

एक साता अघि हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।

सोलस्थित विदेश मन्त्रालयको जानकारी अनुसार उक्त डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार थिए । दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै थिए ।

गत बुधबार स्थानिय समय अनुसार करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको त्यस डुंगामा अर्को डुंगा आएर ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको उक्त डुंगामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए । सरकारी अधिकारीका अनुसार हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी कार्य भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया