काठमाडौँ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ का ६० भन्दा बढी मानिस अज्ञात रोगबाट बिमारी भएका छन् । शनिबार साँझदेखि फैलिएको यस रोगमा अधिकांश मानिसमा झाडापखाला र वाकवाकी लाग्ने लक्षण देखिएको स्थानियले बताएका छन् ।
वडाको मुलाबारी, लामा र खड्का टोलका बासिन्दा या रोगबाट बढी प्रभावित भएका स्थानीय गोकर्ण भुजेलले जनाएका छन् । उपचारमा संलगन डा. पिताम्बर खनालका अनुसार अधिकांश बिरामीमा एकै प्रकारको लक्षण, झाडापखाला र वाकवाकी लाग्ने र बिस्तारै शिथिल बन्दै जाने देखिएको छ ।
रोग प्रभावित क्षेत्रमा जलबिरे र खाडीचौरबाट ७ जना चिकित्सक पुगी उपचार शुरु गरिसकेका छन् । ३० जना बिरामीको खाडिचौरको सदाबहार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर ३ जनालाई काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
उपचारमा संलग्न चिकित्सकले खानेपानीमा ढल वा केही खराब पदार्थ मिसिएकाले गाउँ नै बिरामी भएको हुन सक्ने आशंका गरेका छन् । ल्याब टेस्ट गर्ने प्रविधि नभएकाले रोग फैलनुको कारण पत्ता लाग्न नसकेको हुँदा काठमाडौँ ल्याइएका बिरामीको रगत परीक्षणपछि रोगबारे यथार्थ विवरण आउने डाक्टर खनालले बताएका छन् ।